जेठ ०७, २०८१, सोमबार

राष्ट्रिय सभाको ठूलो दल भएकाले अध्यक्षमा माओवादी दाबी रहन्छ : प्रधानमन्त्री दाहाल


Advertisement Image
clock icon 3 months, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ — प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सभा अध्यक्षमा पार्टीको दाबी रहने बताएका छन् । संघीय संसद् राष्ट्रिय सभा र प्रतिनिधिसभामा रहेका सांसदहरूको संयुक्त संसदीय दलको बैठकमा दाहालले पहिलो दल भएको आधारमा पनि अध्यक्षमा दाबी रहने बताएका हुन् ।

फागुन २० पछि राष्ट्रिय सभामा माओवादी केन्द्र सबैभन्दा ठूलो दल बन्दैछ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल पनि फागुन २० मै सकिन लागेको छ । फागुन २९ मा राष्ट्रिय सभा अध्यक्षको निर्वाचन गर्ने क्यालेन्डर सार्वजनिक गरिएको छ ।

यसै सन्दर्भमा माओवादी केन्द्रको आइतबार र सोमबार गरी दुई दिन बसेको संसदीय दलको बैठकमा बोल्ने सांसदहरूले राष्ट्रिय सभा अध्यक्ष कांग्रेसलाई छोड्न नहुने धारणा राखेका थिए । राष्ट्रिय सभामा माओवादी केन्द्र ठूलो दल बन्न लागेको र सत्ता गठबन्धनमा भएको समझदारीअनुसार प्रधानमन्त्रीबाट दाहालले राजीनामा दिनुपर्ने हुँदा अध्यक्ष छोड्न नहुने तर्क राखेका हुन् ।

सांसदहरूका कुरा सुनेपछि अध्यक्ष तथा प्रधानमन्त्री दाहालले राष्ट्रिय सभा अध्यक्षमा पार्टीको दाबी रहने बताएको माओवादी केन्द्रकी सचेतक रूपा सोसी चौधरीले जानकारी दिइन् । 'राष्ट्रिय सभा अध्यक्षमा पार्टीको दाबी रहन्छ भनेर अध्यक्षले संसदीय दलको बैठकमा भन्नुभएको छ । राष्ट्रिय सभाको पहिलो दल भएको हुनाले पनि अध्यक्षमा दाबी गर्ने आधार छ भन्ने उहाँको कुरा थियो,' चौधरीले भनिन् ।

प्रधानमन्त्री दाहालले राष्ट्रिय सभा अध्यक्ष पार्टीले पाउनुपर्ने विषयमा गृहकार्य गरिरहेको सांसदहरूलाई बताएका थिए । सत्तारुढ गठबन्धनका अन्य राजनीतिक दलहरूसँग पनि उक्त विषयमा छलफल भइरहेको कुरा दाहालले संसदीय समितिमा जानकारी दिएका थिए ।

फागुन २९ गते राष्ट्रिय सभा अध्यक्षका लागि निर्वाचन हुँदैछ । नेपाली कांग्रेसले पनि राष्ट्रिय सभा अध्यक्षमा दाबी गरिरहेको छ ।

राष्ट्रिय सभामा माओवादी १७ सांसदसहित ठूलो दल बनेको छ । १६ सांसदसहित कांग्रेस दोस्रो, १० सांसदसहित एमाले तेस्रो र ८ सांसदसहित एकीकृत समाजवादी चौथो दल बनेको छ ।

यस्तै, जसपाका ३, लोसपा र राष्ट्रिय जनमोर्चाका एक–एक जना सदस्य छन् । सरकारको सिफारिसमा राष्ट्रपतिबाट एक सदस्य मनोनीत हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.