जेठ ०७, २०८१, सोमबार

पोखरा महानगरपालिकाको स्थापना दिवस भब्यताका साथ सम्पन्न


Advertisement Image
clock icon 2 months, 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा महानगरपालिकाको सातौँ स्थापना दिवस भव्यताका साथ मनाइएको छ । दिवसका अवसरमा फाल्गुन २५ गते देखी सरसफाइ, सम्मान, रक्तदान, पोखरा भवन र घट्टे खोला पुलको शिलान्यास लगायतका कार्यक्रमहरू गरिएका छन् । 

नगरपालिका स्थापनाको ६४ औ तथा महानगरपालिका स्थापनाको सातौँ दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५७ जनाले रक्तदान गरेका छन् । महानगरको स्वास्थ्य महाशाखाको व्यवस्थापनमा गरिएको उक्त कार्यक्रममा ५७ युनिट रगत स.कलन भएको हो । दिवसका अवसरमा महानगरपालिकामा सञ्चालित विद्यालयका उत्कृष्ट शिक्षक, विद्यार्थी र विद्यालयहरूलाई सम्मान गरिएको छ । लामो समय शिक्षण गरेका शिक्षकहरूलाई दीर्घ सेवा सम्मान प्रदान गरिएको छ । 

यस्तै दिवस कै अवसरमा पोखरा भवनको शिलान्यास गरिएको छ । पोखरा महानगरपालिका वडा नं.९ पृथ्वीचोक (साबिक गोलघर) मा बन्ने उक्त भवनको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शिलान्यास गर्नुभएको हो । पर्यटन सूचना केन्द्र, पुस्तकालय, आर्ट ग्यालरी र घण्टाघर समेत रहने गरी निर्माण गर्न लागिएको पोखरा भवन पोखराको कोसेली घरको रूपमा रहने छ । भवनमा व्यवस्थित सूचना केन्द्र, सुव्यवस्थित पुस्तकालय, आकर्षक आर्ट ग्यालरी र टपमा घण्टा घर रहने पनि रहने छ ।

०८२ को घटस्थापनाका दिन उद्घाटनको मिति समेत घोषणा गर्दै प्रमुख आचार्यले तोकिएको समय सीमा भित्रै गुणस्तरीय निर्माणमा जोड दिनुभयो । पाँच करोड एक लाख ४६ हजार ५५१ रुपैयाँ लागतमा निर्माण हुने उक्त भवनको अण्डर ग्राउन्ड पार्किङ समेत हुनेछ । १ हजार २ सय ६९ दशमलव ८९ वर्ग मिटरको फ्लोर एरिया हुने भवन सुविधा सम्पन्न हुनेछ । कोजु इन्जिनियरिङले निर्माणको जिम्मा पाएको भवनमा अण्डर ग्राउन्ड पार्किङ, भुइतल्लामा कोसेली घर र सूचना केन्द्र, दोस्रो तलामा पुस्तकालय सहित सभा हल, तेस्रो तलामा आर्ट ग्यालरी र सभा हल तथा सबैभन्दा माथि घण्टाघर रहने छ । 

पोखरा महानगरपालिका वडा नं.१९ को लामाचौर–माछापुच्छ्रे सडक खण्डमा पर्ने खुइते खोला (घट्टे खोला) मोटरेवल पुलको पनि आजै शिलान्यास गरिएको छ । पुलको नगर प्रमुख धनराज आचार्य, प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा र वडा नं.१९ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डेले संयुक्त रूपमा शिलान्यास गर्नुभएको हो । रु.२ करोड ८२ लाख ९७ हजार १३१ को लागतमा निर्माण सम्पन्न हुने पुल ८ दशमलव ४ मिटर चौडा र १६ मिटर लम्बाइको हुनेछ । पुलको दुवै तर्फ १.२ मिटरको फुटट्रयाक पनि हुनेछ । सिङ्गल स्पानको डवल लेन पुल निर्माणको काम २०८१ को कात्तिक भित्र सम्पन्न हुनेछ । पुलको उचाइ जमिन बाट ११ मिटर अग्लो हुनेछ ।  

खुइतेखोलामा निमार्ण हुने पुलले पोखरा महानगरपालिकाको माथिल्लो क्षेत्र र माछापुच्छ्रे गाउँपालिकालाई दिर्घकालिनमा रूपमा जोड्ने विश्वास गरिएको छ । त्यस क्षेत्रको कृषि उपजहरूको बजारीकरण र पर्यटन प्रवर्द्धनात्मक गतिविधिहरूमा यसको यसको योगदान उल्लेखनीय हुनेछ । 

दिवसको समारोह भने पोखरा सभागृहमा सम्पन्न भएको छ । सभालाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा, महानगर सल्लाहकार परिषद्का संयोजक आनन्दराज मुल्मी, दलका नेताहरू दिवसमान प्रधानाङ्ग र राधिका कुमारी शाही योगी, महानगरका प्रवक्ता मोतीराज तिम्सिना, कर्मचारी सङ्गठनका प्रतिनिधिहरू लगायतले सम्बोधन गर्नुभएको थियो । 

आगामी वर्ष देखी महानगरपालिकाले नगरपालिका घोषणा भएको दिनलाई स्थापना दिवसका रूपमा पौष २ गतेलाई मनाउने छ ।
 

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.