जेठ ०७, २०८१, सोमबार

मोरङको पथरीशनिश्चरेमा शौचालय गएकी बालिकाको बीभत्स हत्या


Advertisement Image
clock icon 2 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

विराटनगर । मोरङको पथरीशनिश्चरेमा एक जना बालिकाको सोमबार राति बीभत्स हत्या भएको छ ।

खोटाङको ऐँसेलुखर्क गाउँपालिका–६ सल्ले घर भइ पथरीशनिश्चरे नगरपालिका–७ स्थित लामा टोलीमा बस्दै आएकी १५ वर्षीया ज्ञानमति थुलुङ राईको हत्या भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

उनका अनुसार पथरीशनिश्चरे–१ मा रहेको पञ्चायत माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत ज्ञानमति दाजु (मामाको छोरा) विनोद राईको घरमा २ वर्षदेखि बस्दै आएको खुलेको छ ।

विनोदले आफ्नो घरमा सुम्निमा होटल नामको खाजा नास्ता पसल पनि सञ्चालन गरेका छन् ।

२ वर्षअघि पहाडबाट झरेकी ज्ञानमति नास्ता पसलमा दाजुलाई सहयोग गर्दै उनकै घरमा बसेर पढ्ने गरेकी थिइन् । बुवा दानबहादुर राईको भने यसअघि नै निधन भइसकेको प्रहरीले जनाएको छ ।

सुत्नुअघि शौचालय जाने क्रममा बसेकै घरको कम्पाउण्डमा राति १०ः३० बजेतिर अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरेर बालिकाको निर्मम तरिकाले हत्या गरेको जानकारी डीएसपी दाहालले दिए ।

उनका अनुसार घटनाको प्रकृति हेर्दा पछाडिबाट हतियार प्रहार भएको देखिन्छ । हतियार प्रहारबाट गर्धन, अनुहार र दाहिने पाखुरामा गहिरो चोट लागेको अवस्थामा ज्ञानमतिको शव फेला परेको जानकारी उनले दिए ।

‘घर परिसरमै रहेको शौचालय जाने क्रममा बालिकामाथि हतियार प्रहार भएको भनिएको छ । चिच्याएको आवाज आएपछि हेर्दा बहिनीको ढुकढुकी मात्रै थियो भनेर दाजु विनोदले भनेका छन्,’ डीएसपी दाहालले भने, ‘दाजुले घटना थाहा पाएको केहीबेरमै उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उपचारका लागि अस्पताल लैजानसमेत पाएनछन् ।’

 

प्रहरीका अनुसार घटनामा संलग्नको पहिचान भइसकेको छैन । घटनाको अनुसन्धानका लागि मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्की नेतृत्वको टोली घटनास्थलमा खटिएको छ ।

प्रहरीले घटनाको अनुसन्धानमा तालिमप्राप्त कुकुरको प्रयोग समेत गरेको छ । तर, हालसम्म हत्यामा संलग्नका बारेमा कुनै जानकारी प्राप्त हुन नसकेको डीएसपी दाहालले बताए ।

‘हत्या कसले र किन गर्योभन्ने खुलेको छैन । हत्यामा संलग्नको खोजीमा प्रहरी जुटेको छ,’ उनले भने, ‘बालिकामाथि पटक–पटक हतियार प्रहार भएको छ । विभिन्न कोणबाट घटनाको अनुसन्धान सुरु गरिएको छ ।’

प्रहरीले घटनास्थलबाट उठाएर शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ ।

पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि घटनाका बारेमा थप प्रष्ट हुने प्रहरीको भनाइ छ । घटनास्थलबाट संकलन गरिएको सबुत प्रमाणलगायतलाई केलाएर गहिरो ढंगले घटनाको अनुसन्धान अघि बढाइएको दाहालले बताए ।

तस्बिर /  केशव कार्की

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.