जेठ ०७, २०८१, सोमबार

नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ


Advertisement Image
clock icon 2 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ गरिएको छ।

पूर्व मन्त्री महरालाई पक्राउ गरिएको प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले बताए। सोमबार बिहान कपिलवस्तुबाट पक्राउ गरिएको र काठमाडौं ल्याउन लागिएको कुँवरले जानकारी दिए।

सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगले महरामाथि पनि मुद्दा चलाउन सिफारिश गरेको थियो। त्यसकै आधारमा उनीमाथि थप अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सुन तस्करीको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले यसअघि महारासँग बयान लिएको थियो। तर त्यति वेला छोडिएको थियो।

यसअघि सुन तस्करी प्रकरणमा गत भदौ १३ मा महराका छोरा राहुल पक्राउ परेका थिए। उनी पुर्पक्षका लागि थुनामा छन्।

विद्युतीय चुरोट (भेप)मा सुन तस्करी गरेर ल्याएको आरोपमा राहुल विरुद्ध मुद्दा चलिरहेको छ। राहुलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा समातिएको सुन छुटाउन दबाब दिएको सीआईबीले जिल्ला अदालत काठमाडौंमा दर्ता गरेको अभियोगपत्रमा उल्लेख छ।

सुन तस्करीमा संलग्न व्यक्तिसँग पूर्व सभामुख समेत रहेका महराको बारम्बार टेलिफोन संवाद भएको अनुसन्धानमा देखिएको थियो। त्यसका आधारमा सीआईबीले अनुसन्धान अगाडि बढाएको थियो। तर राहुलमाथि मुद्दा दर्ता गरिएको भए पनि महरालाई उन्मुक्ति दिइएको थियो।

महरा पटक पटक विवादमा आइरहन्छन्। यसअघि चिनियाँ नागरिकसँग ५० करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएको थियो। त्यसमा पनि उनीमाथि अनुसन्धान भएको थिएन।
 

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.