जेठ ०७, २०८१, सोमबार

मनाङेले त्यागे एकीकृत समाजवादी


Advertisement Image
clock icon 2 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा ।

दीपक मनाङे बेलाबेलामा चर्चामा आइरहने पात्र हुन् । उनलाई पार्टी वा सरकारमा प्रवेश तथा त्याग सामान्य लाग्छ ।

केन्द्रमा सत्ता समीकरण फेरबदलका कारण गण्डकी प्रदेशमा पनि सरकार टिकाउने र गिराउने खेल चलिरहँदा नेकपा (एकीकृत समाजवादी) का यी सांसदले दल त्याग गरेको घोषणा गरेका छन् । उनी अन्ततः पहिले स्वतन्त्र सांसदकै रुपमा फर्किएको बताएका छन् ।

माधव नेपाल नेतृत्वको दल एकीकृत समाजवादी त्याग गरेको पत्र उनले आइतबार गण्डकी प्रदेश सभाका सचिव हरिराज पोखरेलसमक्ष बुझाएका हुन् । गत वर्ष ४ मंसिरको प्रदेशसभाको चुनावमा उनी मनाङबाट स्वतन्त्र हैशियतमा चुनाव जितेका थिए । चुनाव जितेको दुई साता नबित्दै १९ मंसिरमा उनी एकीकृत समाजवादी प्रवेश गरेका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस लगायत दलको सत्तासमीकरण फेरेर एमाले, राजस्पा लगायत दलसँग गठबन्धन गरेपछि गण्डकी प्रदेशमा पनि कांग्रेस नेतृत्वको सुरेन्द्रराज पाण्डेको सरकार हल्लिएको छ । मुख्यमन्त्री पाण्डेले मंसिर २२ मा माओवादीका दुई जना मन्त्रीलाई बर्खास्त गरेका थिए । बर्खास्तीको भोलिपल्ट माओवादीले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले सरकार टिकाइराख्न विश्वासको मत लिनुपर्नेछ ।

तर ६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेस सबैभन्दा ठूलो दल भए पनि उसको बहुमत पुग्दैन । उसको २७ सिट मात्र छ । उता, नयाँ गठबन्धनका दलहरु एमालेको २२ र माओवादीको ८ सिट जोड्दा बहुमत पुग्दैन । यहाँ बहुमतका लागि ३१ सदस्य चाहिन्छ । अर्को दल राप्रपाको २ मात्र सिट छ । नयाँ सरकार गठनमा राप्रपा यहाँ निर्णायक हो । तर उसले तत्काल कुनै पनि दललाई समर्थन नगर्ने अडानमा छ । राप्रपा संसदीय दलका नेता पञ्चराम गुरुङले यही व्यवस्थामा आफूहरु सरकारमा नजाने बताउँछन् । गण्डकी प्रदेश सभाको राजनीति अन्योलमा रहँदा मनाङेको दल त्याग निर्णयले रोचक मोड बनेको छ । मनाङेले गण्डकी प्रदेशमा अप्ठेरो परिस्थिति सिर्जना भएको र मध्यावधिमा जान सक्ने सम्भावना भएकोले त्यसतर्फ आफू सचेत रहेको बताएका छन् । आफू कुनै पनि हालतमा मध्यावधिको पक्षमा नरहेको उनले बताए । २०७४ सालको चुनावमा पनि स्वतन्त्र सांसदको रुपमा मनाङबाट निर्वाचित उनी यसअघि मन्त्रीको प्रलोभनमा पटक पटक सत्तामा गएका थिए । उनी प्रदेशको ३ पल्टसम्म मन्त्री बनिसकेका छन् । यसपालि फेरि कांग्रेसले उनीसहित राप्रपालाई फकाएर सरकार टिकाउने दाउमा रहेको स्रोतले जनाएको छ ।

यसैबीच, आइतबारमात्रै गण्डकी प्रदेशका नवनियुक्ति प्रदेश प्रमुख डिल्लीराज भट्टले पदभार ग्रहण गरेका छन् । एमाले निकट उनी गण्डकीको पाँचौं प्रदेश प्रमुख हुन् ।

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.